
बन्दाबन्दीमा आफ्नो गन्तव्यमा हिँडेका बटुवाहरूलाई लायन्स क्लब अफ दैलेखले खाना खुवाएको छ । क्लबमा आबद्ध सदस्यहरूले व्यक्तिगत रूपमा १ हजार ५ सय रकम जम्मा गरेर बटुवालाई खाना खुवाउने अभियान थालिएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन् ।

डुगेश्वर गाउँपालिकाको चुप्रा बजारमा बटुवाहरुका लागि खाना खुवाउने मेस सञ्चालन गरिएको छ । डुगेश्वर गाउँपालिकाको वडा नं. १ र २ नारायण नगरपालिकाको वडा नं. ९ र चुप्रा प्रहरीले यो अभियानमा सहजीकरण गरेको लायन्स क्लब दैलेखका प्रथम उपाध्यक्ष खमबहादुर थापाले जानकारी दिएका छन् । लक डाउन अवधिभर यो अभियान जारी राखिने भएको छ । पहिलो दिन सुर्खेतदेखि कालिकोटका लागि हिँडेका १३ जना र सुर्खेतदेखि भैरवी गाउँपालिकाका लागि हिँडेका ६ जनालाई खाना खुवाइएको थियो ।
सरकारले लक डाउन घोषणा गरे पनि पैदल यात्रा गरेर भारतका विभिन्न नाकाबाट दैलेख आउने, सुर्खेत रोकिएका कामदारहरू दैलेख हुँदै कालिकोट, जुम्ला वा अन्य स्थानमा हिँडेर पुग्ने क्रम रोकिएको छैन ।
बाटामा पानी माग्दा पनि कसैले नदिएको अवस्थामा लायन्स क्लबले खाना खान दिएको भन्दै बटुवाहरूले धन्यवाद दिएका छन् ।









